नेता तथा कार्यकर्तासँग गरे शुभकामना आदानप्रदान
शैलेश साह, पोखरिया ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका नेता रूपेश कुमार पाण्डेयले छठ पर्वको अवसरमा क्षेत्रका विभिन्न छठघाटमा पुगेर पूजाअर्चना गरेका छन्। उनले छठीमाताको पूजा–आराधना गर्दै सम्पूर्ण क्षेत्रवासीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
छठ पर्वको मुख्य दिन आज आइतबार पाण्डेयले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतका विभिन्न स्थानमा रहेका छठघाटमा पुगेर व्रतालु, श्रद्धालु तथा स्थानीयवासीसँग भेटघाट गरेका हुन्। छठघाटमा पुगेर उनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुँदै छठ पर्वको महत्त्व र सांस्कृतिक परम्पराप्रति सम्मान व्यक्त गरेका थिए।
यस क्रममा उनले स्थानीय नेता, अगुवा कार्यकर्ता, पार्टीका समर्थक तथा सर्वसाधारणसँग भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। नेता तथा कार्यकर्तासँगको भेटमा उनले पर्वको खुसी साटासाट गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
तराई–मधेशको मौलिक पहिचान बोकेको छठ पर्व धार्मिक आस्था र विश्वाससँगै सामाजिक एकता तथा सद्भावको प्रतीकका रूपमा स्थापित रहेको छ। जातजाति, भाषा, वर्ग र समुदायबीचको दूरीलाई कम गर्दै सबैलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने यस पर्वले समाजमा आपसी प्रेम, विश्वास र सहकार्यको भावना बलियो बनाउने विश्वास गरिन्छ।
छठघाटमा व्रतालु तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने यस पर्वमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले पनि पर्वको महत्त्व थप बढाएको देखिन्छ।
नेता पाण्डेयले विभिन्न छठघाटमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै नेता तथा कार्यकर्तासँग शुभकामना साटासाट गरेको कार्यक्रमलाई धार्मिक आस्था, सामाजिक सम्बन्ध र राजनीतिक संगठनबीचको सम्पर्क विस्तारका रूपमा समेत हेरिएको छ।
छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, एकता र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने भएकाले यस पर्वको मौलिकता र सांस्कृतिक परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको छ।
यसैबीच, छठ पर्वको अवसरमा नेता रूपेश कुमार पाण्डेयले सम्पूर्ण क्षेत्रवासी, देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

Comments
Post a Comment