![]() |
| तस्विर इण्डिया अनलाइन मीडिया |
ताजमहलजस्तो पण्डाल, करोडौँको गाडी र लाखौँ पाहुना आउने अनुमान!
बिहार।
बिहारको राजनीतिमा चर्चित नाम हुन् अनन्त कुमार सिंह उर्फ ‘छोटे सरकार’। मोकामाका विधायक अनन्त सिंह आफ्नो राजनीतिक पहिचान, दबंग छवि र फरक शैलीका कारण सधैँ चर्चामा रहने गरेका छन्। उनकी पत्नी नीलम देवी पनि राजनीतिमा सक्रिय रहँदै मोकामाबाट विधायक भइसकेकी छन्। अनन्त सिंहको परिवारमा दुई छोरी र तीन छोरा छन्।
यतिबेला अनन्त सिंहकी कान्छी छोरी शिवांगी सिंहको विवाहलाई लिएर बिहारदेखि देशभर चर्चा भइरहेको छ। शिवांगीको विवाह ऋषिकेश कुमार उर्फ अंकितसँग २५ नोभेम्बर २०२६ मा हुने तयारी छ। ऋषिकेश पटना जिल्लाको बिहटा निवासी सीआरपीएफ कमान्डेन्ट रणविजय कुमारका छोरा हुन्। उनले अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीबाट एमबीए गरेका छन्।
विवाहलाई भव्य र ऐतिहासिक बनाउन मोकामाको नदवाँ गाउँमा करिब १० बिघा क्षेत्रफलमा विशाल आयोजनास्थल तयार पारिँदै छ। विवाहको मुख्य पण्डाल ताजमहलको शैलीमा निर्माण भइरहेको छ भने अर्को पण्डाल लालकिल्लाको स्वरूपमा बनाउने तयारी गरिएको छ। विशिष्ट पाहुनाहरूको आगमनका लागि हेलिप्याडसमेत निर्माण गर्ने चर्चा छ।
विवाह समारोहमा १५० भन्दा बढी प्रकारका परिकार पाहुनालाई खुवाउने तयारी रहेको बताइएको छ। त्यस्तै, घोडदौड प्रतियोगिता पनि आयोजनाको विशेष आकर्षण बन्ने भएको छ। प्रतियोगिताका विजेतालाई महिन्द्रा थार गाडी पुरस्कार दिने चर्चा छ।
यसका साथै बेहुलाका लागि करिब तीन करोड रुपैयाँ मूल्य पर्ने ल्यान्ड रोभर डिफेन्डर गाडीको समेत चर्चा भइरहेको छ। आयोजक पक्षले विवाहमा लाखौँ पाहुना सहभागी हुन सक्ने अनुमान गरेको छ।
खर्च र स्रोतलाई लिएर राजनीतिक बहस
विवाहको भव्यता र तयारीले जति चर्चा पाएको छ, त्यति नै यसको खर्च र स्रोतलाई लिएर राजनीतिक बहस पनि सुरु भएको छ। राष्ट्रिय जनता दल (राजद) की सांसद मीसा भारतीले समेत विवाहमा हुने खर्चलाई लिएर प्रश्न उठाएकी छन्।
यद्यपि, विवाह समारोहको कुल बजेट र खर्चको स्रोतबारे आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।
ताजमहलजस्तो पण्डाल, लालकिल्लाको शैलीमा निर्माण, महँगो गाडी, हेलिकप्टरको व्यवस्था र लाखौँ पाहुनाको सहभागिताको अनुमानका कारण अनन्त सिंहकी छोरीको यो विवाह अहिले बिहारकै सबैभन्दा चर्चित शाही विवाहमध्ये एक बनेको छ।
साभार :इण्डिया मीडिया

Comments
Post a Comment