Menu

छठ पर्वमा नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा अभियान, वीरगञ्जका पाँच घाटमा स्वास्थ्य सहायता डेस्क सञ्चालन

शैलेश गुप्ता |
November 15, 2026
Featured
  

शैलेश साह, वीरगञ्ज ।

छठ पर्व २०८३ को अवसरमा श्रद्धालु तथा व्रतालुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले वीरगञ्जका पाँच प्रमुख छठघाटमा प्राथमिक उपचार तथा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ।


कलेजले मेडिकल पार्टनरका रूपमा वीरगञ्जस्थित रानीघाट, मुर्ली पोखरी, घडिअर्वा पोखरी, स्विमिङ पुल र नगवा पोखरी गरी पाँच स्थानमा स्वास्थ्य सहायता डेस्क स्थापना गरी सेवा प्रदान गरेको हो।


छठ पर्वका अवसरमा हजारौँ श्रद्धालु तथा व्रतालुहरू छठघाटमा भेला हुने भएकाले सम्भावित स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थालाई ध्यानमा राखेर तत्काल प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कलेजले जनाएको छ।


दुईदिने छठ पर्वअन्तर्गत शनिबार कात्तिक २९ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने क्रममा पाँचवटै घाटमा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरिएको थियो। साँझको अर्घ्य कार्यक्रम सम्पन्न भइसकेको छ भने आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने समयमा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिने जनाइएको छ।


प्रत्येक छठघाटमा छुट्टाछुट्टै हेल्थ डेस्क लिड तथा एमबीबीएस अध्ययनरत विद्यार्थी स्वयंसेवकहरू परिचालन गरिएको छ। उनीहरूले घाटमा उपस्थित व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई आवश्यकताअनुसार प्राथमिक उपचार र स्वास्थ्य सहायता उपलब्ध गराइरहेका छन्।


स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहज परिचालन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कलेजले आवश्यक यातायात, समन्वय तथा व्यवस्थापकीय प्रबन्धसमेत मिलाएको छ।


धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छठ पर्वका अवसरमा स्वास्थ्य सेवा उपलब्ध गराएर नेशनल मेडिकल कलेजले समुदायको स्वास्थ्य सुरक्षाप्रति आफ्नो सामाजिक उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गरेको छ।


अस्पतालभित्र बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको कलेजले यस्ता अभियानमार्फत समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासलाई समेत निरन्तरता दिँदै आएको छ।


उक्त स्वास्थ्य सेवा अभियानको समग्र समन्वय कलेजको कर्पोरेट तथा मार्केटिङ विभागले गरिरहेको छ।







यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

मधेश $type=triple-post$count=3

देश $type=triple-post$count=9

AD

जीवनशैली $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3