सुनसरी मदेश प्रदेश
सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्। उनीहरूलाई सोही वडास्थित टपरा अर्नमा घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ करिब ७ः३० बजे भक्तजनहरूले छठ पर्वको साँझको अर्घ्य दिएर घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
![]() |
| प्रहरी द्वारा रिजवान मंसूरी पक्राउ परेका युवक |
घटनामा संलग्न रहेको आरोपमा दुवै युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
छठजस्तो धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको पर्वको पूजास्थलमा भएको तोडफोडको घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता बढाएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहर हुनेमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग उठेको छ।



Comments
Post a Comment